

राजधानीमा दोहोरो शक्ति प्रदर्शन, सुरक्षा संयन्त्र ‘हाई हलर्ट’मा, एसएसपीको कमाण्डमा ३५ सय प्रहरी परिचालन

काठमाडाैं – आज राजधानीमा गणतन्त्र र राजावादीको दोहोरो शक्ति प्रदर्शन हुने भएको छ । यी २ शक्तिले उपत्यकाका विभिन्न स्थानमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।
राजावादीले तीनकुने र गणतन्त्रवादीले भृकुटीमण्डपमा सभा गर्ने तय भएको छ ।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्नेगरी रुट तय गरेको छ ।
सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ । बबरमहल (पुलको छेउ), कुपण्डोल, त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट जुलुस निकाल्ने तय भएको छ । मोर्चाले निकाल्ने जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ ।
यता, नवराज सुवेदी नेतृत्वको राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको छ । उनीहरूले तीनकुनेमा सभा गर्ने तयारी गरेका छन् ।
काठमाडौंका दुई स्थानमा हुने बेग्लाबेग्लै समूहको प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा तीन हजार पाँच सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी काठमाडौं उपत्यका प्रहरी कार्यालयको छ ।
सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा कमाण्डको नेतृत्व गर्नेछन् । तीनकुनेमा बानेश्वर, गौशाला वृत्तका डीएसपी खटिनेछन् भने प्रदर्शनीमार्गमा जनसेवा, दरबारमार्ग र सिंहदरबार वृत्तका डीएसपी खटिने छन् ।
काठमाडौं परिसरमै कमाण्ड सेन्टर बनाएर प्रहरी खटनपटन गर्ने व्यवस्था मिलाइएको छ । कमाण्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसमेत बसेर निर्देशन दिने भएका छन् । प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई संयुक्त रूपमा परिचालन गरिने काठमाडौं प्रहरी प्रमुख, एसएसपी अधिकारीले जानकारी दिए ।
सुरक्षा रणनीति अनुसार पूर्वराजाका समर्थकलाई सकभर रिङरोडमा मात्रै जुलुस निकाल्नेगरी ‘कर्डन’को व्यवस्था मिलाइएको छ । भक्तपुरबाट आउने राजावादीहरूलाई तीनकुनेमै रोक्ने रणनीति प्रहरीले बनाएको छ । त्यस्तै, समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ ‘डाइभर्ट’ गर्ने तयारी प्रहरीको छ ।
‘सकभर मुठभेड हुन दिने अवस्था आउन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन’, एसएसपी अधिकारीले भने, ‘प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न हामी सुझाउँछौं ।’

