

पोखराका वडा सचिवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

पोखरा- पोखरा महानगरपालिका–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।
लामिछानेले सेवाग्राहीसँग जन्म मिति सच्याइदिने भन्दै घुसस्वरूप २ लाख ५ हजार माग गरी उक्त रकम लिएको स्वीकार गरेपछि उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा उनले दिनेश लामिछानेको पहिले नै भएको जन्मदर्तालाई परिवर्तन गर्न मिलेमतो गरी दोहोरो जन्मदर्ता गराएको पाइएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही माग गरिएको हो ।
आयोगका अनुसार लामिछानेले घुसबापतको रकम दिनेश लामिछानेमार्फत बैंक खातामा जम्मा गराएर सोही रकम आफ्नो खातामा स्थानान्तरण गरेका थिए । यस कार्यमा संलग्न रहेको भन्दै दिनेश लामिछानेविरुद्ध समेत विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफासहित लामिछाने र दिनेशविरुद्ध बिगो बमोजिम जरिवाना, कैद सजाय तथा घुसबापतको रकम जफत गर्न माग गरेको छ ।

