गुरागाईंलाई काठमाडौं महानगरमा हाजिर गराउन कर्मचारी युनियनको अल्टिमेटम


काठमाडौं-  स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई चैत २५ गतेभित्र कार्यालय हाजिर गराउन नसके आन्दोलन गर्ने चेतावनी दिएको छ । युनियनले विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थिति सुनिश्चित गरी कार्यालय सञ्चालनको व्यवस्था नभए आन्दोलन चर्काउने चेतावनी महानगर प्रमुख बालेन साहलाई दिएको हो ।

युनियनले त्रासको वातावरण सिर्जना गरी कर्मचारीलाई मनोवैज्ञानिक दबाब दिने गतिविधि बढ्दै गएको बताएको छ।

‘केही समययता कर्मचारीहरूलाई अनधिकृत व्यक्तिहरूले गैरकानुनी दबाब दिने, अभद्र भाषा प्रयोग गरी अपमान गर्ने प्रवृत्ति बढेको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘कर्मचारीलाई त्रासमा राखी कानुनसम्मत काम गर्न नदिने र हुकुमी शैलीको प्रशासनिक व्यवस्था लाद्न खोज्ने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गर्दछौं ।’

सरकारले सरोज गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त गरेपछि गत असोज ७ गते उनले पदबहाली गरेका थिए ।

तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण प्रक्रिया पूरा नगरी नक्सा स्वीकृत गरेको आरोप लागेको थियो, जसका कारण उनी हाल निलम्बनमा छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थाका कारण प्रशासनिक कामकाजमा समस्या देखिएको छ भने कर्मचारी र शिक्षकहरूले पनि तलब पाउन सकेका छैनन् ।

प्रतिक्रिया