भारतीयलाई नागरिकता दिलाउन नक्कली बुवा बनेपछि…


सिरहा-  भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन नक्कली बुवा बनेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाँलाई मंगलबार साँझ घरबाटै नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । जिल्ला अदालतबाट बुधबार म्याद लिई उनको विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

प्रहरी उपरीक्षक पण्डितले भने, ‘हामीले यो विषयमा गम्भीर अनुसन्धान सुरु गरिसकेका छौं । यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइनेछ ।’

मिलेमतोमा भारतीय नागरिकलाई नागरिकता

सिरहाको नरहा गाउँपालिका-३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ गते नेपाली नागरिकता प्रदान गरेको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुनले नक्कली बुबाआमा बनेर नागरिकता दिलाएका थिए ।

यस प्रकरणमा वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस गरेका थिए । उनीहरूले २ लाख भारु घुस लिएर नागरिकता दिलाएको आरोप लागेको छ ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परे पनि हालसम्म कुनै कारबाही भएको छैन ।

 

 

प्रतिक्रिया