

निर्माण कम्पनीको लापरबाहीका कारण सास्ती बेहोर्दै तेमालबासी
समयावधि सकिएको ८ महिनासम्म भकुण्डे-माम्ती सडकको २२ प्रतिशत मात्र काम

काभ्रे – एउटा निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीय जनताले कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने उदाहरण हेर्न कुनै दूरदराज वा दुर्गममा जानु पर्दैन, उपत्यकासँगै जोडिएको काभ्रे पुगे हुन्छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीदेखि तेमाल गाउँपालिकाको मेच्छेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको समयसीमा सकिएको एक वर्ष पुगिसक्दा पनि २५ प्रतिशत पनि काम नभएपछि स्थानीयहरुले सास्ती ब्यहोर्दै आएका छन् ।
डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्ड स्तरोन्नतीका लागि विसं २०७९ साउन १६ गते २ वर्ष अर्थात् २०८१ साउन १५ सम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाए पनि उक्त समयावधिसम्म २५ प्रतिशत पनि काम नभएको स्थानीयहरुले जनाएका छन् । उक्त सडक स्तरोन्नतीका लागि ठेक्का पाएको केएस देवी रमन÷तेज जेभीले रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने थियो ।
बिपी राजमार्गको वैकल्पिक मार्गको रुपमासमेत अगाडि बढाइएको उक्त सडक खण्ड हुँदै गत असोज दोस्रोसाताको बाढीबाट क्षतिग्रस्त सडकको बैकल्पिक मार्गका रुपमा प्रयोग गरिएको थियो ।
निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै निर्माण कार्यमा तदारुकता नदेखाएपछि नमोबुद्ध नगर तथा तेमाल गाउँपालिकाले पटक–पटक सडक कार्यालयमा ताकेता गरेको थियो । तर पनि निर्माण कम्पनीले गत असोजको बाढीको कारण देखाउँदै असारमसान्त सम्मको समयावधि माग्दै निवेदन दिएको छ ।
यसअघि नै वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको उक्त सडकखण्ड निर्माण भएमा आउने वर्षामा बीपी राजमार्ग प्रयोग गर्ने यात्रुहरुले वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सक्ने हुँदा हुँदै पनि कम्पनीले अझै काममा तदारुकता देखाउन सकेको छैन ।
ठकेदार कम्पनीलाई सडक निर्माणलाई तीव्रता दिन पटक पटक ताकेता गर्दासमेत वेवास्ता गरेका कारण आयोजना लथालिङ्गको अवस्थामा पुगेको नमोबुद्ध नपा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । ‘आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणले गति नलिँदा यस्तो अवस्था आयो’, उनले भने । उनका अनुसार गुणस्तरीय निर्माणमा पनि शङ्का गर्नुपर्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक, तथा स्थानीय जनप्रतिनिधिले पटक–पटक अनुगमन गर्दै तालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको प्रगति विवरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आए पनि कम्पनीले बहानाबाजी गर्दै आएको छ ।
निर्माण सम्पन्न नहुँदा स्थानीयले दुःख कष्ट ब्यहोरेको जनाउँदै जनप्रतिनिधिहरुले डिभिजन कार्यालयलाई ध्यानाकर्षण गराउँदै काम छिटो सकाउन दबाब दिँदै आएका छन् ।
डिभिजन कार्यालयका अनुसार हालसम्म जम्मा २२ प्रतिशत मात्रै काम भएको जनाइएको छ ।

