

गाईमाथि क्रुर व्यवहार गर्नेहरुलाई खोज्दै प्रहरी

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँमा परम्पराको नाममा गाईमाथि क्रुर व्यवहार गर्ने व्यक्तिहरूको खोजीमा प्रहरी परिचालन भएको छ ।
प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीका अनुसार गाईलाई लठ्ठी र ढुंगाले प्रहार गर्दै जबरजस्ती कर्णाली नदी पार गराउन खोज्ने समूहको पहिचान भइसकेको छ । दोषीको खोजीका लागि प्रहरी टोली परिचालित भइसकेको र आजै उनीहरूलाई पक्राउ गरिने उनले जानकारी दिए ।
घटनास्थल प्रहरी कार्यालयदेखि झन्डै पाँच घन्टाको दूरीमा रहेको हुँदा प्रहरी पुग्न केही समय लाग्न सक्ने उनले बताए । घटनामा संलग्न आठदेखि नौ जना रहेको देखिएको छ, जसमा चार–पाँच जनाको पहिचान भइसकेको छ । ती व्यक्ति गाउँमै रहेको जानकारीका आधारमा प्रहरीले खोजी कार्य अघि बढाएको छ ।
वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार स्थानीय साउने सार्कीको मृत्यु भएपछि परम्पराअनुसार कालीकोटबाट गाई ल्याइएको थियो । तर, जति प्रयास गर्दा पनि गाईलाई नदी पार गराउन नसकेपछि स्थानीयहरू फर्किए, र केही समयपछि गाई पनि घर फर्किएको उनले बताए ।
वडाध्यक्ष सार्कीले गाईमाथि भएको क्रुर व्यवहारलाई सामाजिक चेतनाको कमीका रूपमा स्वीकार गर्दै आफू पनि जिम्मेवार रहेको बताए । परम्पराका नाममा गरिने गलत कार्यहरू त्याग्न आवश्यक रहेको उल्लेख गर्दै उनले कानुनभन्दा माथि कोही नभएको र दोषी ठहरे आफू पनि सजाय भोग्न तयार रहेको जनाए।
प्रहरीले फोटो खिचेर गाई सकुशल रहेकाे पुष्टि गरिसकेको छ ।

