

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निर्माण स्थानीय अवरोधका कारण ठप्प

काठमाडौं— निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीय अवरोधका कारण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले खानेपानी लगायतका विभिन्न माग अघि सार्दै आइतबारदेखि निर्माण कार्य अवरुद्ध गरेका हुन् ।
आयोजनाका अनुसार काठमाडौं र धादिङ दुवै तर्फको काम अवरुद्ध भएको छ। पटक-पटक स्थानीयको अवरोधले सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन । उनीहरूले आफ्ना माग पूरा नभएसम्म काम गर्न नदिने अडान लिएका छन्। मागसहितको ब्यानर सुरुङको मुख अगाडि टाँगिएको छ ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार समस्या समाधानका लागि स्थानीयसँग छलफल भइरहेको छ । यसअघि, गत फागुन १८ मा पनि धादिङतर्फका स्थानीयले निर्माण कार्यमा अवरोध गरेका थिए ।
आयोजनाले कुनै थप अवरोध नआएमा २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। तर, बारम्बारका अवरोधले तोकिएको समयमै काम सम्पन्न हुनेमा अन्योल छ ।
२०७६ कात्तिक ४ गतेदेखि सुरु गरिएको सुरुङमार्गको हालसम्म ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ । मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ भने आपतकालीन सुरुङ २ हजार ५ सय ५७ मिटर लामो छ । हाल सुरुङभित्र लाइटिङ, कंक्रिट सडक निर्माण तथा बलम्बुको किसिपिडीमा फ्लाईओभर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

