स्युचाटारमा आगलागी, १५ लाखको क्षति


काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित एक कच्ची घरमा गए राति (चैत २) आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एक तलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० मा लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।

उनका अनुसार, साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भएको थियो । तर, चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका थिए । अरू विभिन्न क्षेत्रका थप चार दमकल ल्याइए पनि सडक फराकिलो नहुँदा त्यहाँ पुर्‍याउन सकिएन ।

उक्त आगालगीमा १५ लाख रुपैयाँबराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालीमाटी प्रहरी वृत्तका प्रमुख रूपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वयम्भू वृत्तका प्रहरी टोली समेत परिचालन गरिएको थियो ।

आगलागीबाट अन्न, काठका फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा, फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया