सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने बिक पक्राउ
काठमाडौं- सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बनाइदिन्छु भन्ने कैलाली गोदावरी नगरपालिका–६ का ३२ वर्षीय तुलाराम बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले कैलालास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा अत्तरियाबाट बिकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका बिकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगीसम्बन्धी अनुसन्धान भइरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए ।
बिकले दार्चुलाका इन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाइदिन्छु भनी विश्वास दिलाएर पटक–पटक गरी पाँच लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार भएका थिए ।