भारतीय फुटबल महासंघले नेपालविरुद्ध साफमा उजुरी गर्ने
काठमाडौं- साफ महिला च्याम्पियनसिप अन्तर्गत सेमिफाइनल खेलमा नेपालसँग भएको खेलको क्रममा १ घण्टासम्म रोकिएको बारे भारतले साफमा उजुरी गर्ने भएको छ ।
गत आइतबार दशरथ रंगशालामा भएको खेलमा भुटानी रेफ्री ओम चोकीको गलत निर्णयका कारण झण्डै ७० मिनेट खेल रोकिएको बारे भारतीय फुटबल महासंघ (एआईएफए) ले साफमा उजुरी गर्ने भारतीय सञ्चार माध्यमले जनाएको छ ।
“एआईएफएले काठमाडौं, नेपालमा २०२४ अक्टोबर २७, आइतबार भएको साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमीफाइनलको दौरानका भएको घटनामा ध्यान दिएको छ । एआईएफएफले घटनाहरूको बारेमा साफलाई पत्र लेख्नेछ र उपयुक्त मञ्चमा यस विषयलाई उठाउनेछ । भारतको यू–१९ महिला टोलीले हालैको साफ प्रतियोगितामा (गत फेब्रुअरीमा बंगलादेशमा) लगभग समान स्थिति भोगेको थियो, र एआईएफएफले यस प्रकारका घटनाहरू क्षेत्रको फुटबलको विकासका लागि राम्रो नभएको महसुस गरेको छ,” एआईएफएफले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भारतसँगको सेमिफाइनल खेलमा नेपालले गरेको बराबरी गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि खेल १ घण्टा भन्दा धेरैबेर अवरुद्ध बनेको थियो । पहिले गोलको संकेत गरेपनि पछि गोलको मान्यता दिन अस्वीकार गर्दा नेपाली दर्शक आक्रोशित बनेका थिए ।
निर्धारित समयसम्म १-१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा भारतमाथि नेपाल ४-२ ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।