यसरी काट्न सकिन्छ साफ महिला फाइनलको टिकट
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट विक्रीका लागि नयाँ व्यवस्था गरेको छ ।
एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो । १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको हाे ।
अब टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट विक्री हुने भएको छ । एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट विक्री गर्ने जनाएको छ । एन्फाले एक व्यक्तिलाई भिआइपी तर्फको २ र साधारण तर्फको ५ टिकट मात्र किन्न पाउने बताएको छ । रंगशालामा भिआइपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ ।
एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ । फाइनल खेल बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा हुँदैछ ।