
दिवंगत नेता जोशीको सम्मानमा कांग्रेसले तीन दिन पार्टी झण्डा झुकाउने
काठमाडौं – नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
सानेपास्थित पार्टी कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको सम्मानमा चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो। यसैगरी बैठकले १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णयपनि गरेको छ।
कांग्रेसले तीन दिन शोकसभा बाहेक पार्टीको अन्य सबै कार्यक्रम स्थगित गरेको छ। मष्तिस्क घातका कारण एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता जोशीको शुक्रबार राति निधन भएको छ।
जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ। जोशीलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा कांग्रेस नेता, कार्यकर्ता र उनका समर्थकहरूको घुइँचो लागेको छ।



कागजपत्र |
