गाजाको उत्तरी क्षेत्रमा इजरायली आक्रमणमा ७७० जनाको मृत्यु


गाजा – हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा कम्तीमा ७७० जनाको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा निकायले बिहीबार यो तथ्यांक प्रस्तुत गरेको हो।

‘उत्तरी गाजामा सैन्य कारबाही शुरु भएयता ७७० भन्दा बढी मानिसको मृत्यु भएको छ’, क्षेत्रको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भने। भग्नावशेषमुनि मानिस पुरिएका हुनाले मृत्यु सङ्ख्या बढ्नसक्ने उनले बताए।

उनका अनुसार मध्य गाजामा विद्यालय-आश्रयस्थलमा भएको आक्रमणमा १७ जनाको मृत्यु भएको छ। इजरायली सेनाले भने उक्त स्थलमा हमास लडाकूहरूलाई लक्षित गरेर आक्रमण गरेको बताएको छ।

उत्तरी क्षेत्रमा अब उसले प्राथमिक उद्धार सेवा प्रदान गर्न नसक्ने नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ। इजरायली सेनाले आफ्ना टोलीहरूलाई ‘बम विस्फोट गरी मार्ने’ धम्की दिएको आरोप लगाएको छ।

इजरायली सेनाका अनुसार आक्रमणको उद्देश्य हमासले उत्तरमा पुनर्निर्माण गर्न खोजिरहेको सञ्चालन क्षमतालाई नष्ट गर्नु हो। सेनाले मानिसहरूलाई क्षेत्र खाली गर्न बारम्बार भनेको छ र त्यसो गर्न उनीहरूले सेनाले नियन्त्रण गरेका चेकप्वइन्टहरू पार गर्नुपर्छ।

एएफपीद्वारा प्रमाणित अनलाइनमा पोस्ट गरिएका तस्विरले यस्ता चेक प्वइन्टहरू पार गर्न प्रतीक्षा गरिरहेका प्यालेस्टिनीहरूको भीड देखाएका छन्। केही प्यालेस्टिनीले यस प्रक्रियाको क्रममा दुर्व्यवहार वा हिरासतको बारेमा उजुरी गरेका छन्।

सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि इजरायलले हमासको गाजामा आक्रमण शुरु गरेको थियो।

प्रतिक्रिया