सेनाले सुनकोसी नदीमा बेलीब्रिज जडान गरेपछि आवागमन सुचारु


काठमाडौं- नेपाली सेनाले खुर्कोटस्थित सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न गरेको छ । बेलीब्रिज जडान भएसँगै मंगलबारबाट आवागमन सुचारु भएको छ ।

“सिन्धुली जिल्लास्थित गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदी माथि रहेको पुल पुनर्निर्माणपछि आजबाट यातायात आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चात्‌को बाढीका कारण सुनकोसी नदीमाथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाएको थियो । त्यसपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो ।

गत असोज २० गतेबाट प्राविधिकसहित खटिएको नेपाली सेनाको टोलीले कात्तिक ५ गते बेलीब्रिज जडान कार्य सम्पन्न गरेको थियो ।

प्रतिक्रिया