
प्रहरीकै मिलेमतोमा हनी ट्र्यापिङ प्रकरण: एसपी कमल थापा पनि छानबिनमा
काठमाडौँ – व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्नामा अख्तियारमा कार्यरत एक जना प्रहरी उपरीक्षक (एसपी) माथि पनि छानबिन थालिएको छ ।
प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतका अनुसार प्रहरी उपरीक्षक कमल थापामाथि छानबिन भइरहेको छ । थापालाई अख्तियारबाट प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ ।
ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी अहिले फरार छिन् ।
एसपी थापाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दिपेन्द्र जिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जिसी महिला बालबालिका सेवा निर्देशनालयमा कार्यरत छन् ।
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । सो उजुरीको आधारमा इन्स्पेक्टर शाहीले ललितपुरको लुभु बस्ने घरजग्गा व्यवसायीलाई बोलाएर छलफल गराएकी हुन् । ती व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दारसहित ४ जना थुनामा छन् ।



कागजपत्र |
