प्रचण्ड भेट्न खुमलटार पुगे चिनियाँ नेता


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् ।

नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलसँग आज (शनिबार) साँझ खुमलटार निवासमा भेटवार्ता गर्दै उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताएका हुन् ।

नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष दाहालले सन् २०१९ को उनको भ्रमण ऐतिहासिक रहेको बताए । उनले उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रूपमा बेइजिङ ओलम्पिकको समापनमा र गत वर्ष पनि प्रधानमन्त्री हुँदा चीन गएको उल्लेख गरे । ‘गत वर्ष मेरो भ्रमणमा धेरै विषयमा एमओयू भएका थिए र ऐतिहासिक महत्वको साझा विज्ञप्ति जारी गरेका थियौं । ती सबै समझदारी कार्यान्वयन गरेर जानुपर्छ भन्ने पक्षमा हामी दृढ छौं,’ दाहालले भने ।

नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले चीन पनि यसमा प्रतिबद्ध रहने छ भन्ने आफ्नो विश्वास रहेको बताए । उनले चीन र नेपालबीचको भौगोलिक अवस्थित प्रतिकूल रहे पनि विज्ञान प्रविधिको उच्चतम प्रयोग गरे दुई देशीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सीमा नाकाहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने, रेलमार्ग निर्माणलाई अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताए ।

आफूहरूले गणतन्त्र स्थापनाका लागि थालेको जनयुद्धका बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरूको धेरै अध्ययन गरेर नेपाली विशेषतासहितको क्रान्ति अघि बढाएको स्मरण गराउँदै उनले अब पनि नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न आफ्नो पार्टी इच्छुक रहेको बताए । अध्यक्ष दाहालले चिनियाँ स्वाधीनको सम्मान गर्दै नेपालले निरन्तर एक चीन नीतिलाई सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले पनि नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको संवेदनशीलताका लागि धन्यवाद दिए ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता अझै बढाउनु पर्ने बताए । पहिलो पटक नेपाल भ्रमणमा आएका उनले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्ने बताए ।

नेपाल भ्रमणमा आएका सेक्रेटरी छेनले आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि चिनियाँ दूतावास र होटल याक एण्ड यतिमा हुन लागेको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । टोलीले आइतबार नै काठमाडौं दरबार स्क्वायरको समेत अवलोकन गर्नेछ । कात्तिक ५ गते सोमबार बिहान स्वयम्भू, भक्तपुर दरबार स्क्वायरको अवलोकनलगायतका कार्यक्रम छन् । चिनियाँ टोली २०८१ कात्तिक ५ गते सोमबार नै दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक हुँदै स्वदेश फर्किने छ ।

प्रतिक्रिया