पर्यटनमन्त्री पाण्डेको सफल पहलः आन्दोलनरत ‘क्याबिन क्रु’ सहमतिमा, अवरुद्ध अन्तर्राष्ट्रिय उडान सुचारु


काठमाडौं — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको पहलमा आन्दोलनरत नेपाल वायुसेवा निगमका क्याबिन क्रु (एयर होस्टेस) सहमत हुँदै आन्दोलन फिर्ता लिएका छन् ।

मन्त्री पाण्डेको पहलमा आन्दोलनरत पक्षको मागका सम्बन्धमा व्यवस्थापन पक्ष सहमत भएपछि अवरुद्ध अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत अस्वीकार गर्दै निगम व्यवस्थापनले ४५ वर्ष उमेर पुगेका एयर होस्टेसलाई अवकाश दिन लागेपछि निगमका क्याबिन क्रु आन्दोलित भएका थिए । व्यवस्थापन र आन्दोलनरत पक्षबीच शुक्रबारको वार्ता असफल भएपछि रातिको दुबई उडान रद्द हुन पुगेको थियो भने शनिबारका कुनै उडान भएनन् ।

मन्त्री पाण्डेको पहलमा भएको करिब ७ घण्टा लामो वार्तापछि निगमको कर्मचारी विनियमावली संशोधन गरी ४५ वर्षको ठाउँमा ५० वर्ष उमेर हद कायम गर्नेलगायतका सहमति भएको छ । अब निगम व्यवस्थापनले तत्कालै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाउनेछ ।

वार्तामा मन्त्री बद्री पाण्डे, सचिव, निगम कार्यकारी अध्यक्षलगायत व्यवस्थापन पक्षका सबै र आन्दोलनरत एयर होस्टेसका तर्फबाट अध्यक्ष प्रदा कार्की, प्रजिता कार्की, स्मिता गुभाजूलगायत सहभागी थिए ।

प्रतिक्रिया