पत्रकारलाई जेल सजाय हुने फैसलाप्रति महासंघको गम्भीर चासो


काठमाडौं-  अनलाइन न्युज पोर्टल सीधा कुराका कार्यकारी सम्पादक नवीन ढुंगाना तथा प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले तोकेको कैद सजाय पश्चात नेपाल पत्रकार महासंघले चासो देखाएको छ ।

सोमबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट आएको फैसलाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन/प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो । स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्चाउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ’ महासंघले भनेको छ ।

सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानूनको अधीनमा रहेर प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्छ भन्ने मान्यता महासंघले राखेको छ । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने जनाएको छ ।

 

प्रतिक्रिया