काठमाडौंमा वितरण हुने ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म


काठमाडौं – काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेटाएपछि बिक्री वितरणमा रोक लगाएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

भदौ १२ देखि २८ भदौसम्मका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो ।

जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्रान्डहरुमा व्याच नं १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ युनिट (सीएफयू) देखियो । उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ मा यसको नमूना लिइएको थियो । पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं ८ बाट उत्पादन भइरहेको छ ।

भदौ १२ मा नमूना लिइएका पानीमध्ये व्याच नं १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ युनिट (सीएफयू) देखियो । अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ् वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एसएनएस वेभरेजले उत्पादन गरेको पानी हो ।

व्याच नं ६ को कोलभोतेश्वर ब्रान्डको भदौ २४ मा नमूना लिइएको हो । यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ युनिट (सीएफयू) छ । यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो ।

भदौ २४ मै नमूना लिइएका पानीहरुमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटियो । अक्वा डिवीमा ५, अकुवामा १७, व्याच नं २०० को क्युव प्रोसेस ड्रिङ्किङ वाटरमा ३ सयभन्दा धेरै र व्याच नं ४२ को अक्वा माइल्ड ब्रान्डको पानीमा २१ कोलोनी फर्मिङ युनिट (सीएफयु) भेटिएको छ ।

भदौ २८ मा संकलन गरिएका नमूनामध्ये अक्वा कपन र अक्वा गौरशंकरमा कोलिफर्म भेटियो । अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ युनिट (सीएफयू) देखिएको छ । अक्वा कपन एम के मिनरल वाटर उद्योगले बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ । अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ ।

प्रतिक्रिया