कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख क्युसेक नाघ्यो, अवस्था अतिजोखिमपूर्ण


विराटनगर – सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव विस्फोटक अवस्थामा पुगेको छ । शनिबार राति ९ बजेसम्मको मापनमा कोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड ६ लाख क्युसेक नाघेको छ ।

पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी जोड्ने कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाटै बाढी बगिरहेको छ । पानीको बहावले विस्फोटक रुप लिन थालेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। ब्यारेजका सबै ढोका खोलिँदा पनि पानी पुलमाथिबाट गइरहेको छ ।

त्यहीकारण अहिले कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ । बाढीले विस्फोटक रुप लिएपछि भारतले बिहारतर्फ बिहानैदेखि उच्च सतर्क अवस्थामामा सरकारी निकायलाई राखेको छ ।

भारतको निगरानीमा रहने कोशी ब्यारेजको पुलमा सवारी साधन चलाउन पनि निषेध गरिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरेको छ । तर अहिले कोशीमा पानी त्यसको चार गुणाभन्दा धेरै पुग्दा पुल नै जोखिममा परेको छ ।

प्रतिक्रिया