‘उपत्यकाबाट साढे सात सय जनाको उद्धार’


काठमाडौं – गृहमन्त्री रमेश लेखक निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाण्डौ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए ।

“दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।” गृहमन्त्री लेखकले भने, “ मुलुकमा ठुलो विपद्को स्थिती आएको छ ।” उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

बर्षाका कारण काठमाण्डौ भित्र्निे सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिए । “विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।”, उनले भने, “ बाढी, पहिरो लगायत विप्द सम्वन्धी पूर्व सुचना जारी गर्ने काम पनि हुदै आएको छ ।”

उनले अवस्था सामान्य हुदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए ।

“खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो ।”, उनले भने, “स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सुचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।”

प्रतिक्रिया