बागमती नदीमा बेपत्ता युवक १९ घन्टापछि मृत भेटिए


रौतहट – जितिया पर्व मनाउने क्रममा बागमती नदीमा नुहाउँदा डुबेर बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । नुहाउँदा नुहाउँदै नदीमा बेपत्ता भएका माधव नारायण – ८ रजावाडाका १८ वर्षीय श्यामलाल सहनी झण्डै १९ घन्टापछि आज बिहान मृतावस्थामा फेला परेका हुन् ।

उनको शव १९ घन्टादेखि खोजीमा जुटिरहेको संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

सोमवार विहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण, ईलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरु सहितको टोलीले मृतकको शब आज बिहान ६ बजे नदीबाट बाहिर निकालेको थियो ।

घटनास्थलको मुचुल्का पश्चात मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाईएको छ ।

प्रतिक्रिया