कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।

आज (बुधबार) प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतको पक्षमा ६६ र विपक्षमा १५ मत पर्‍यो । ८३ सांसद उपस्थित प्रदेशसभा बैठकमा नेकपा एकीकृत समाजवादी भने तटस्थ बसेको छ । विपक्षमा नेकपा माओवादी केन्द्र र राप्रपाले मतदान गरेको थिए ।

प्रदेशसभा बैठकमा उपस्थित दुई सांसद मतदानमा भने सहभागी भएनन् । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीको पक्षमा दुई तिहाइ बहुमत देखिएको छ । गत २७ वैशाखमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक ३१ वैशाखमा विश्वासको मत पाएका थिए । तर, ११ साउनमा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि र १४ भदौमा समर्थन फिर्ता लिएपछि राजनीतिक समीकरण परिवर्तन भएको थियो ।

हाल कोशीमा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५, एकीकृत समाजवादी चार र जनता समाजवादी पार्टीका एक सांसद छन् ।

प्रतिक्रिया