एमपक्सको खोपलाई डब्ल्यूएचओबाट मन्जुरी


वाशिङटन डीसी- विश्वभर एमपक्स अर्थात् मंकीपक्सको प्रकोप फैलिरहेको छ । यस्तोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दिएको छ । सङ्गठनले पहिलो पटक शुक्रबार डेनमार्कको कम्पनी बवेरियन नर्डिकको खोपलाई वयस्कहरूमा प्रयोग गर्ने मन्जुरी दिएको हो ।

अहिलेसम्म एउटा निर्माताले मात्रै खोप बनाइरहेकोले यसको आपूर्ति सीमित भएको बताइएको छ । अफ्रिकामा फैलिएको अहिलेको प्रकोप र भविष्यमा हुने सङ्क्रमण रोकथाम दुवैको दृष्टिमा एमपक्सविरुद्धको खोपले यसरी प्रयोगको अनुमति पाउनु भाइरस विरुद्धको लडाइँमा महत्त्वपूर्ण चरण भएको डब्ल्यूएचओका महानिर्देशक डा.टेद्रोस अधानोम गेब्रियससले भनेका छन् ।

यो खोप ४ हप्ताको अन्तरालमा २ डोजमा दिइन्छ । पहिला एम्पक्सको सङ्क्रमण नभएका व्यक्तिमा यो खोप ७६ प्रतिशत प्रभावकारी भएको उपलब्ध आँकडाले देखाएको डब्ल्यूएचओले भनेको छ । खोपको दुवै मात्रा भने ८२ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

प्रतिक्रिया