कैलालीमा मेडिकल गएर सुई लगाए लगत्तै महिलाको मृत्यु


कैलाली- कैलालीको टीकापुरस्थित एलएन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका- १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो ।

टाइफाइडको उपचारका लागि मेडिकल गएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । बिरामीको मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक विश्व अधिकारीले जानकारी दिए।

घटना लगत्तै हिजो साँझ नै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रमुख अधिकारीले बताए । मृतक सञ्चुरियाकी छोरी रिमा चौधरीले जोशीपुरबाट दिउँसो एक्लै टीकापुरस्थित छोरीको घर पुगेकी उनलाई मेडिकलमा उपचारका लागि लगेकी थिइन् ।

जोशीपुरबाट हिँडेर आएकी आमाको सुई लगाएको एक मिनेटमै ज्यान गएकोले मेडिकल सञ्चालकको लापरवाही देखिएकाले सञ्चालकलाई कारबाही हुनुपर्ने छोरी रिमाको भनाई छ । सञ्चुरियाको ज्यान गएपछि स्थानीयहरू आक्रोशित भएका छन् ।

यसअघिसमेत उक्त मेडिकलमा दुई जना बिरामीको उपचारका क्रममा सुई लगाए लगत्तै ज्यान गएको थियो ।

प्रतिक्रिया