एउटा पुतली मारे २ रूपैयाँ पुरस्कार !


गोलन्जोर (सिन्धुली) – गोलञ्जोर गाउँपालिका–४, माझकुभिण्डे निवासी केदारराक्से ठकुलीलाई जुनारको बगैँचामा जति जति फल बढ्दै गइरहेको छ, त्यति त्यति चिन्ता पनि थपिँदै गइरहेको छ । जुनारमा सुँडे पुतलीको प्रकोप बढेसँगै उनलाई चिन्ता थपिएको हो ।

यतिखेर उनको साढे नौ रोपनी जमिनमा गरिएको व्यावसायिक जुनार खेतीमा लटरम्म फल लागेको छ । सुँडे पुतली राति फलमा बसेर रस चुस्ने र फल कुहाउने समस्या देखिएको उनले गुनासो गरे । उनले भने, ‘बर्सेनि जुनार खेतीबाट १० लाख रुपियाँभन्दा बढी आम्दानी लिँदै आएको थिए तर यो वर्ष सुँडे पुतलीको प्रकोपले धेरै क्षति सहनु पर्ला जस्तो छ ।’

जुनारमा गुलियो रस भरिँदै जाँदा सुँडे पुतलीले जुनार नै सखाप पार्न थालेको किसानको गुनासो छ । उनीहरूका अनुसार सुँडे पुतली नियन्त्रण गर्न अहिलेसम्म कुनै ठोस उपाय छैन । सुँडे पुतली मार्न र धपाउन कतिपय किसानको त रातभरि नै जुनार बगैँचामा बास हुने गरेको छ । खास गरी रातको समयमा सुँडे पुतली फलमा आएर बसेर सुँड गाडेर रस चुस्ने र चुसेको फल पँहेलो भई झरेर कुहिने भएकाले समस्या देखिएको गोलन्जोर गाउँपालिका–५ का अर्का जुनार किसान निर्मलकुमार रम्तेल बताउँछन् ।

गाउँपालिकाले हालै एक सूचना जारी गरी फल चुस्ने सुँडे पुतली समातेर मार्नेलाई प्रतिपुतली प्रोत्साहनस्वरूप दुई रुपियाँ दिने जनाएको उनले सुनाए गाउँपालिकाले सुँडे पुतली समातेर सम्बन्धित वडा कार्यालयमा बुझाएमा प्रोत्साहनबापत प्रतिपुतलीको दुई रुपियाँ प्रदान गर्ने उल्लेख गर्दै सार्वजनिक सूचना जारी गरेको छ । ‘तत्कालका लागि पुतली समात्ने र मार्नेभन्दा अरू उपाय छैन,’ गाउँपालिका अध्यक्ष शङ्करराज बरालले भने, ‘त्यसैले गाउँपालिकाले पुतली समातेर मार्नेलाई दुई रुपियाँ नगद प्रोत्साहनस्वरूप प्रदान गर्ने निर्णय गरेको हो । सुँडे पुतली समातेर वा मारेर गाउँपालिकाको कुनै पनि वडामा बुझाए प्रतिपुतली दुई रुपियाँ दिने निर्णय गरेका हौँ ।’

पुतली अँध्यारोमा जुनारको फलमा आउने भएकाले रातको समयमा निगरानी गरी किसान र प्राविधिक भएर पुतली समाउने काममा लागेको जुनार सुपरजोनका प्राविधिक जहानसिंह कार्कीले जानकारी दिए । उनका अनुसार जुनारमा सुँडे पुतली देखिएपछि किसानसँगै प्राविधिकसहित भएर रातिको समयमा पुतली समाउने गरिएको समाचार गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया