भोटेकोशीमा खस्यो बोलेरो गाडी, बाढीका कारण उद्धारमा समस्या


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा एउटा बोलेरो गाडी खसेको छ । शुक्रबार दिउँसो बाह्रबिसे, तातोपानी जाने सडकको बोडरल्यान्डस्थित भोटेकोशी नदीमा बोलेरो खसेको हो ।

भोटेकोशीमा खसेको गाडीको केही भाग देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईले बताए । गाडी खसेको पुष्टि भएको छ । गाडीको टायरसहितको केही भाग पनि देखिँदैछ’, उनले भने, ‘तर भोटेकोशीमा ठूलो बाढी आएकाले उद्धारमा चुनौती आइपरेको छ ।’ डीएसपी भट्टराईका अनुसार घटना थाहा भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाडी र त्यसमा सवार यात्रुको खोजी गरिरहेको छ ।

‘प्रहरी र सेनाको टोलीले गोताखोरसहित खोजी गरिरहेको छ । तर बाढी उर्लेको भोटेकोशीमा बोलेरो पूरै डुबेकाले नम्बर पनि पहिचान गर्न मुस्किल भएको उनले बताए । गाडीको थोरै भाग मात्रै देखिएकाले क्रेनले पनि तानेर निकाल्न मुस्किल भएको छ । भट्टराईका अनुसार गाडी नम्बर नखुलेकाले त्यसमा कति यात्रु सवार थिए भन्ने पनि खुल्न सकेको छैन । स्थानीय जलविद्युत्का दुईवटा क्रेनले तान्ने प्रयास गरिए पनि बाढी कारण नसकिएको उनले बताए ।

गाडी निकाल्न नसकिएकाले थप विवरण पत्ता लगाउन नसकिएको उनले बताए ।

प्रतिक्रिया