
खादामाला लगाएर त्रिभुवन विमानस्थल प्रवेश गर्न नपाइने
काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यात्रुलाई खादामाला नल्याउन आग्रह गरेकाे छ ।
हवाई यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्याइरहेको भन्दै कार्यालयले सूचना जारी गरेकाे छ ।
खादामाला एक्स-रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किने गरेको र त्यसले उपकरणलाई गम्भिर क्षति पुर्याएको दाबी कार्यालयको छ । हवाई यात्रुले खादामाला सँगै लैजाने हो भने आफ्नो झोलाभित्र राखेर लैजान सक्ने पनि कार्यालयले जनाएको छ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य तथा आफन्तले बिदाइ स्वरूप खादामाला लगाउने गरिएको छ।
गत भदौ १४ गते विमानस्थलमा सुरक्षा जाँचमा खटिएका प्रहरीले एक यात्रुलाई खादा खोल्न लगाएकाे विषय चर्चामा आएकाे थियाे ।




कागजपत्र |
