मेरो पहिलो काम नीति र विधि बनाउने होः गृहमन्त्री लेखक


काठमाडौं – गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताए ।

‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अर्थमन्त्रालय पठाइएको छ । अन्य निकायमा पनि नीति र विधिको समस्या छ भने म कहाँ प्रस्ताव ल्याएर आउनुहोस् । मैले अगाडि बढाउँछु । पहिलो काम नीति र विधि बनाउने नै हो,’ उनले भने ।

नीति र विधि बनेपछि जनशक्ति र बजेटका राष्ट्रिय योजना आयोगसँग आग्रह गरिने गृहमन्त्री लेखकको भनाइ थियो । ‘सुरक्षाको अनुभूति दिन दक्षजनशक्ति चाहियो । त्यसका लागि बजेट चाहियो । बजेट योजना आयोगसँग माग्नुपर्छ,’ उनले भने ।

गृहमन्त्री लेखकले गृहबाट अर्थमन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकलाई चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयका प्रतिनिधिलाई आग्रह गरे । ‘दुबै विधेयकमाथि प्रधानमन्त्रीजीको उपस्थितिमा सकारात्मक र परिणाममुखी छलफल भएको छ । यसले कुनै आर्थिक भार पर्ने छैन,’ उनले भने ।

यस्तै प्रत्येक महिना राजश्व संकलनको रेकर्ड मागेको भन्दै गृहमन्त्री लेखकले राजस्व बढाउन आफूले निरन्तर जोड दिएको बताए ।

बैठकमा योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सबै ठाउँमा स्रोतको सुनिश्चिता नहुँदै कार्यक्रम बनाउने समस्या रहेको बताए । यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले गृह प्रशासनको काम अंकभन्दा पनि अनुभूतिमा गराउने विषय भएको बताए । बैठकमा मन्त्रालयको आन्तरिक व्यवस्था महाशाखा प्रमुख सहसचिव गोगन हमालले आर्थिक वर्ष २०८०- ८१को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया