स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन सरकार अलमलमा छः मन्त्री पौडेल


काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्‍याउन सरकार अलमलमा रहेको बताएका छन् ।

मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एक लाखको बीमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा ५ लाख झनै कठिन हुने हो की ? भन्ने संशय सरकारसँग रहेको बताए । उनले सरकारलाई मन्त्रालयको तर्फबाट आफूले श्रोत सुनिश्चितताका लागि आवश्यक प्रश्ताव र योजना पनि दिएको जानकारी दिए ।

उनले बीमालाई एकीकृत प्रणालीबाट विकास गर्नुपर्ने उल्लेख गरे । मन्त्री पौडेलले चिनीजन्य पदार्थ बढी भएका उत्पादनहरुमा सुगर ट्याक्स लगाउनुपर्ने र त्यसबाट आएको कर बीमा बोर्डमा जाने व्यवस्था गरिनुपर्ने बताएका हुन् ।

राज्यले स्वास्थ्य कर १२ अर्ब लिने गरेको भएपनि स्वास्थ्य मन्त्रालयलाई जम्मा ४० करोड रुपैयाँ दिइएको भन्दै उक्त कर सम्पूर्ण रुपमा बीमा बोर्डमा जाने व्यवस्था हुनुपर्ने बताए । शिक्षण अस्पतालमा सुविधाका शिर्षक र बीमाको गरेर ६२ करोड रुपैयाँ सरकारले दिन बाँकी रहेको भन्दै अस्पताल सञ्चालनका लागि तत्काल दिनुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘उधारो उपचार पनि अस्पताले गर्न सक्दैन। ६२ करोड सुविधाका शीर्षक र बीमाको गरेर टिचिङको बाँकी छ भन्ने मैले सुनेको छु । त्यसैले अब त्यो अस्पताल चल्न तत्काल पेमेण्ट हुने स्थिति हुनुपर्छ । यो सबैकुरा श्रोत सुनिश्चित नभएका कारण भएको। श्रोत सुनिश्चित यो-यो तरिकाले गर्न सकिन्छ भनेर पनि हामीले प्रश्ताव गरेका छौं । यो एक लाखको सिलिङलाई बढाएर पाँच लाख पुर्‍याउनुपर्छ। एउटा परिवार पाँच जनाको मानिएको छ । एक लाख भनेको २० पञ्चे सय। त्यो खासै ठूलो होइन। आवश्यक पर्नेका लागि । यहाँ नपर्नेले पनि प्रयोग गरिदिएर समस्या भएको छ । आवश्यक हुनेका लागि यो पाँच लाखसम्म पुर्‍याउनुपर्छ।’

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई ५० प्रतिशत भुक्तानीको प्रक्रिया पूरा गरिसकेको र अर्थ मन्त्रालयमा पुगेको बताए ।

प्रतिक्रिया