सत्ता राजनीतिमा जसपाका ‘महन्थ’ अर्थात् मुखिया 


काठमाडौं– सरकारको चाबीका रुपमा रहेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्ने दुई धार स्पष्ट देखा परेको छ।

पूर्व संघीय समाजवादी पार्टीका उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायतका केही नेता ओलीको पक्षमा उभिन नहुने लविङमा छन्। तर सत्ता राजनीतिमा जसपाका लागि वार्ता गर्ने महन्थ अर्थात् मुखियाका रुपमा भने अध्यक्ष महन्थ ठाकुर देखा परेका छन्। उनी भारतीय संस्थापनको दबाबमा रहेको बताइन्छ।

त्यसैले उनैको नेतृत्वमा मंगलबार पनि राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ताका लागि पुगेका थिए। जुन टोलीमा यादव–भट्टराई पक्षका कोही  पनि सहभागी थिएनन्। यद्यपि वार्तामा पुगेका नेता शुक्लाले भने सरकारलाई समर्थन दिने निर्णय नभइसकेको तर सकारात्मक वार्ता चलेको बताएका छन्। उनका अनुसार मुद्दा र माग सम्बोधनमा सरकार सकारात्मक देखिएका कारणले समर्थन हुन सक्ने पनि बताएका छन्।

अहिलेको सत्ता राजनीतिमा जसपा चाबी बनेपछि त्यसभित्रका मुखियाचाहिँ अध्यक्ष ठाकुर नै देखिएका छन्। उनले सल्लाह बिना नै केही दिन अघि कर्ण र शुक्लालाई बालुवाटार पठाएको भनी जसपाभित्र रडाको मच्चिाएको थियो।

सोही क्रममा यादव र पूर्व राष्ट्रिय जनता पार्टीका महतोबीच भनाभन भएको विवरण बाहिर आएको थियो।

ओलीको पक्षमा नउभिए जसपालाई विभाजनको विन्दुसम्म पनि लैजानका लागि ठाकुर, महतोहरूलाई सुझाव दिएको पाइन्छ। यो संविधान गतिलो नभएको भनी उनीहरू नाकाबन्दीका बेला आन्दोलनमा थिए। त्यसबेला भारतले नभई आफूहरुले नाकाबन्दी गरेको बताइरहेका थिए।

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकीकरण गरी जसपा बनेको थियो।

केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न नसकेपछि जसपाभित्र आन्तरिक मतभेद रहेको छ। संसदीय दलको नेताका विषयमा अहिलेसम्म टुंगो नलाग्नुको कारण पनि सत्तालाई समर्थन गर्ने कि नगर्नेमा रहेको बताइन्छ।

प्रधानमन्त्री ओलीले जसपाका लागि अध्यक्ष ठाकुर नै मुखिया भएपछि पहिलो चरणको वार्ताका क्रममा प्रस्ताव राखेका थिए– समर्थन गर्नुहोस्, गर्न नसके अर्को गठबन्धनमा नजानुहोस्। ठाकुरले भनेका थिए,‘प्रधानमन्त्रीसँगको पहिलो चरणको वार्तामा यो प्रस्ताव आयो तर हामीले एजेन्डा कार्यान्वयन गरे सहकार्य हुनसक्ने बताएका छौं।’

यादव–भट्टराई पक्ष भने सत्ता समीकरणका विषयमा त्यति सक्रिय भएको छैन। उक्त पक्ष नेकपा माओवादी केन्द्रको प्रस्ताव अनुसार कांग्रेससँग मिलेर जानुपर्नेमा दृढ छ। तर यी सबै समीकरणीय खेलमा ठाकुर निर्णायक हुने बताइन्छ।

त्यसका लागि यादव पक्षभित्रको असन्तुष्टिलाई पनि केलाइएको छ। पूर्व संघीय समाजवादी भित्रै रहेको असन्तुष्टिलाई समेत प्रयोग गरी पार्टी विभाजनसम्म हुने लेखाजोखा गरिएको छ। जसले प्रधानमन्त्री ओलीका दुई विकल्पमा सहयोग हुनसक्ने अनुमान छ। पहिलो, ओली सरकारलाई समर्थन र दोस्रोचाहिँ तटस्थ बस्दा प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि। त्यसैले प्रधानमन्त्री ओलीले भनेका थिए,‘अब विघटन किन गरेको थिएँ भन्ने पुष्टि हुनेछ।’

प्रतिक्रिया