प्रहरीमा अवकाशः उमेरहद हटाउन माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं – नेपाल प्रहरीका दुई उच्च अधिकृत सर्वोच्च गएका छन् । उमेरहदका कारण अवकाश नगर्न माग गर्दै प्रहरीका एआईजी श्याम ज्ञवालीसहित उच्च अधिकृतहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

एआईजी ज्ञवाली सहितका अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न माग गरेर रिट दर्ता गरेको जनाइएको छ ।

ज्ञवालीसहित डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेललगायतले रिट दायर गरेका हुन् ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अनिवार्य अवकाशमा जाने प्रावधान रहेको छ ।

यसअघि एसएसपी जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।

न्यायाधीश हरि फुयाँलले तत्काल ३० वर्षे कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छन् । त्यसबारे असोज १० मा सुनुवाइ हुने भनिए पनि सरकार त्यस आदेशको विरुद्धमा भ्याकेटमा गएको छ ।

उता सशस्त्रका डीआईजी अभि कुमार खत्रीसहतिका १२ जनाले पनि ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका छन् । सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको रिटमा न्यायाधीश सारंगा सुवेदीले कारण देखाऊ आदेश जारी गरेकी छन् ।

 

प्रतिक्रिया