लीलाको अवकाशपछि को बन्नेछन् मुख्यसचिव ?


काठमाडाैं- नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवी गडतौला यहि भदौ १५ मा अवकाशमा जाँदैछिन् । असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाएको थियो ।

निजामती सेवा ऐन २०४९ मा मुख्यसचिवको कार्यकाल ३ र सचिवको कार्यकाल ५ वर्ष हुने उल्लेख छ । तर, कार्यकाल नसकिँदै ५८ वर्ष पुग्दै गर्दा उनी उमेरहदका कारण स्वतः अवकाशमा जाने भएकी छिन् ।

उनी अवकाशमा जाने भएपछि नयाँ मुख्यसचिवको दौडमा ६ जनाको नाम अगाडि आएको छ । राष्ट्रिय योजना आयोगमा हाल कार्यरत रहेका तोयानारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कार्यरत सचिव दिनेश भट्टराई, गृहसचिव एकनारायण अर्याल, राष्ट्रिय तथ्यांक कार्यालयमा तथ्यांक अधिकारी रहेका सचिव अर्जुनप्रसाद पोखरेल र उपराष्ट्रपति कार्यालयको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनी मुख्यसचिव बन्ने लाइनमा छन् ।

तर, विभिन्न कारणले सुवेदी, पोखरेल र मरासिनी भने मुख्यसचिवको ‘फाइटबाट रिङ आउट’ हुने सम्भावना प्रवल छ। विगतमा माओवादीका मन्त्रीहरुसँग निकट भएर काम गरेको आरोप खेप्दै आएका सुवेदी अगामी कात्तिक ५ गते अवकाशमा जानेछन् ।

माओवादी सत्ता बाहिर भएको अवस्थामा उनी सत्तारुढ दलको रोजाइमा नपर्ने पक्का-पक्की जस्तै छ । त्यसैगरी प्रबल दाबेदार मानिएका दिनेश भट्टराई पनि गृह मन्त्रालयमा सचिव भएर काम गरिसकेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस–एमालेका नेताहरुमाथि अनुसन्धान गराउन खोजेको आरोप पनि लाग्दै आएको छ ।

त्यसैगरी अर्थ सचिवमा असफल भएका पोखरेल र नेसनल पेमेन्ट गेटवे खरिद भ्रष्टाचार प्रकरणमा मुछिएका मरासिनीलाई पनि जिम्मेवारी नदिने मुडमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।

तीनजना दौडबाट बाहिरिने भएपछि ज्ञवाली, भट्टराई र अर्याललाई भने मुख्यसचिवको बलिया दावेदार मानिन लागिएको छ । तीमध्ये सबैभन्दा बलियो दावेदारको रुपमा गृहसचिव एकनारायण अर्याल रहेको कर्मचारीहरु बताउन थालेका छन् ।

अर्याल प्रधानमन्त्री ओलीसँग अत्यन्तै निकट मानिन्छन् । अर्यालले प्रमुख जिल्ला अधिकारी रूपमा काठमाडौं, काठमाडाैं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काम गरिसकेका छन् । उनी नेपाली महावाणिज्य दूतावास कलकत्तामा महावाणिज्य दूत पनि बनिसकेका हुन् ।

नाकाबन्दी, संविधान घोषणा, भूकम्पका बेला निकै सक्रिय भएर काम गरेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हेर्ने आम दृष्टिकोणलाई नै बदलेका थिए । सुधारवादी प्रशासकका रूपमा लिइने अर्याल नेतृत्व क्षमतामा पनि अब्बल सचिवका रूपमा चिनिन्छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएसँगै त्यहाँसमेत उल्लेखनीय सुधार गरेका अर्याल पछिल्लो समय प्रधानमन्त्रीको रोजाईमा पर्दै आएका छन् । राजनीतिक नेतृत्वसँग स्पष्ट बोल्न सक्ने र कर्मचारीका विषयमा खुलेर बोल्न सक्ने अर्याललाई भावी मुख्यसचिवका रुपमा हेरिएको छ ।

यस्तै वरिष्ठताको आधारमा तोयानारायण ज्ञवाली प्रमुख दाबेदार मानिन्छन् । तर कार्यसम्पादनमा कमजोर समेत रहेका ज्ञवालीको पनि मुख्यसचिव बन्ने सम्भावना कम रहेको चर्चा कर्मचारी वृत्तमा चलेको छ ।

प्रतिक्रिया