सहकारीपीडित चतुर्वेदी झुन्डिएको अवस्थामा मृत फेला


काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा सहकारीपीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । मोरङको विराटनगरका चतुर्वेदी शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

चतुर्वेदी अत्तरखेलस्थित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्तिभैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ ।

चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्तिभैरवपीडित संघर्ष समितिका सदस्य राजेशकुमार विष्टले जानकारी दिए । “उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए । उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए,” उनले भने ।

चतुर्वेदीले उक्त सहकारीमा २५ लाख रुपैयाँ बचत गरेको र त्यो रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको संघर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दै आएका सदस्य विष्टले बताए ।

प्रतिक्रिया