डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे निर्णयमा पुग्न लेखा समितिद्वारा बैठक आह्वान


काठमाडौँ – डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे निर्णयमा पुग्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ ।

समिति सचिवालयका अनुसार आगामी आइतबार दिउँसो एक बजे बैठक बोलाइएको छ । उक्त बैठकबाट निर्णय लिन यसअघि समिति सभापति ऋषिकेश पोखरेलसहित समितिका सदस्यहरूले अनौपचारिक छलफल गरेका छन् ।

छलफलका आधारमा ‘विद्युत् प्रसारणसँग सम्बन्धित विद्युतको पूर्वाधार लगायतका विषयमा उठेका प्रश्नहरूबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने र यो विषयमा जिम्मेवार अधिकारीलाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिने’ तय भएको छ ।

‘विद्युत् महसुल उठाउन बाँकी उद्योगहरूसँग प्रमाणका आधारमा अगाडि बढ्न समेत सरकारलाई सुझाव दिने’ समितिको तयारी छ । प्रारम्भिक विषयहरू तय गरिएको भएता पनि समितिको बैठक बसेरै ठोस निर्णय पुगिने समिति सदस्यहरूले बताएका छन् ।

यसअघि समितिले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीहरू र उद्योगीहरूसँग समेत छलफल गरेको थियो । छलफलपछि गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत् प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरूमा आपूर्ति गरेको बिजुलीको टीओडी मिटरको डाटा माग गरेको थियो ।

विद्युत् प्राधिकरणबाट प्राप्त टिओडी मिटरको डाटाको अध्ययन समेतका आधारमा निष्कर्षमा पुग्न लागिएको समिति सचिवालयले जनाएको छ ।

प्रतिक्रिया