मर्स्याङ्दी बस दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो


तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारा नजिकै आज विहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐनापहरा नजिकबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ भने उनीहरुको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भइरहेको छ । मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । दुर्घटना र अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ । भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्याङ्दी नदीमा खसेको हो । बसमा सवार यात्रु सबै भारतको महाराष्ट्रका भएको खुलेको छ । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन भएको छ ।

अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ । घटनास्थलबाट बसमा सवार ४३ यात्रुकै उद्धार भइसकेको डिएसपी रायको भनाइ छ । घाइतेको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । बस शुक्रबार बिहान ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।

प्रतिक्रिया