साफ यू–२०: श्रीलंकाविरुद्ध नेपालको संघर्षपूर्ण जित


काठमाडौँ  – साफ यू–२० च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाले श्रीलंकासँग १–० को संघर्षपूर्ण जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। पर्याप्त बल पोसेसनका बाबजुत नेपालले गोलका धेरै अवसर खेर फाल्दा साँघुरो जितमा चित बुझाउन बाध्य भयो।

यो खेलले नेपालको आगामी यात्रा चुनौतीपूर्ण रहेको संकेत गरेको छ। अब समूहको दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्ने छ।

नेपालका लागि निराजन धामीले पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यसपछि नेपाली खेलाडीले लगातार गोलका अवसर बनाए पनि सफल हुन सकेनन्। २४ औं मिनेटमा समिर तामाङको थ्रोलाई डिफेन्डरले क्लियर गर्न नसक्दा पाएको मौकालाई निराजनले गोलमा परिणत गरेका थिए।

दोस्रो हाफमा पनि गोलको अवसर अन्तिम समयसम्म प्रयास गरेको नेपालका केही प्रहार गोलरक्षकले जोगाउँदा अन्तिम समयको प्रहार क्रसबारमा लाग्यो। श्रीलंकाले भने केही सीमित अवसर बनाए पनि नेपालको पोस्टमा गोल गर्न सकेन।

समूह ‘ए’ मा नेपाल र श्रीलंकासँगै बंगलादेश रहेको छ। त्यस्तै, समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

 

प्रतिक्रिया