विदेश पढ्न जाने विद्यार्थीले लगे एक खर्ब २५ अर्ब, विदेशी विद्यार्थीले ल्याए ६ अर्ब


काठमाडौं- नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ ।

नेपालबाट विद्यार्थी र घुम्न जाने लगायतले एक खर्ब ८९ अर्ब रूपैयाँ लगेका छन्।  यसमध्ये अध्ययन गर्न जानेले मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ विदेश लगेका हुन् ।

यस्तै गत आर्थिक वर्षमा पर्यटकहरूबाट ८२ अर्ब ३२ करोड रूपैयाँ भित्रिएको छ भने नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीले ६ अर्ब एक करोड भित्र्याएका छन् ।  सन् २०२४ को यो सात महिना (जुलाईसम्म) को अवधिमा ६ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

साढे १४ खर्ब रेमिट्यान्स भित्रियो 

एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो ।

नेपाल राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ ।

प्रतिक्रिया