

गठ्ठाघर स्कुटर दुर्घटनामा ज्यान गुमाउनेलाई बहिनी भनेर दाबी गर्ने युवक पक्राउ

काठमाडाैं- बिहीबार भक्तपुरको गठ्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको मेलुङ गाउँपालिका- ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । उनले आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनी घटनास्थलबाट हिँडेपछि मृतक महिला नभएर पुरुष भएको पुष्टि भएको थियो । त्यसपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो ।
बिहीबार दिउँसो गठ्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी ओखलढुङ्गाका ६५ वर्षीय उत्तम कोइरालाको निधन भएको हाे ।

