दशरथ रङ्गशाला बिग्रिएपछि साफ यु–२० फुटबल सातदोबाटोमा हुने


काठमाडौं-  नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले रङ्गशालाको अवस्था खेल्न नमिल्ने भएपछि खेल एन्फा मुख्यालयको एस्टो टर्फमा खेलाउन लागिएको जानकारी दिएको छ । एएफसी च्यालेन्ज कपको प्लेअपअन्तर्गत चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच मङ्गलबार भएको खेलले दशरथ रङ्गशालाको अवस्था बिग्रिएको थियो । हिलाम्मे मैदान र खेलाडीको बिजोग अवस्थाबारे सर्वत्र आलोचना भएको थियो ।

दशरथ रङ्गशालाको अवस्था देखेपछि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले एन्फालाई मैदानको विकल्प खोज्न आग्रह समेत गरेको थियो ।

मैदान अभावका कारण यस च्याम्पियनसिप एन्फाको टर्फमै खेलाउने र फाइनल खेल दशरथ रङ्गशाला हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको पनि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले जनाएको छ ।

साफ यु-२० च्याम्पियनसिप ६ देशको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान रहेका छन् । उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि एन्फाले नेपाली खेलाडी टोलीको घोषणा समेत गरिसकेको छ ।

 

प्रतिक्रिया