विभिन्न सहुलियत दिएर गौतमबुद्ध र पोखरा विमानस्थल पूर्ण क्षमतामा चलाउँदै सरकार


काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहुलियत दिएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले  दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा निश्चित समयका लागि सहुलियत दिन लागिएको जानकारी दिए ।

‘विमानस्थल सञ्चालनमा देखिएका कठिनाइ निराकरण गर्न प्रधानमन्त्रीको नेतृत्वमा अर्थ, परराष्ट्र, श्रम र उद्योग वाणिज्य मन्त्रालयका मन्त्रीसहित छलफल गरिएको छ’ उनले भने ।  मन्त्री पाण्डेका अनुसार आगामी २०८३ भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ ।

कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिने सेवा शुल्क आगामी २०८३ भदौसम्म नलिने योजना बनाएको उनले बताए ।

पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको उनको भनाइ छ । यस्तै  सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको उनले बताए ।

इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनेको मन्त्री पाण्डेले बताए । त्यस्तै अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको मन्त्री पाण्डेले जानकारी दिए ।

विमानस्थलमा क्वारेन्टाइन चेकजाँचका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले गर्नुपर्ने गरी कार्ययोजना मन्त्रिपरिषदमा पेस भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया