क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा दिने, कुन प्रदेशमा कहाँ ?


काठमाडाैं- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले अब सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । अस्पतालका निर्देशक डा. शिवजी पौडेलले सरकारको कार्यक्रम अन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमै सेवा विस्तार गर्न लागेको जानकारी दिए।

डा. पौडेलले प्रदेशभित्रै रहेका एक सरकारी अस्पतालमा कम्तीमा पाँच शैयाको क्यान्सर उपचार कक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिए । अस्पतालका अनुसार कोशी प्रदेशको धनकुटामा, मधेश प्रदेशको जनकपुरमा, गण्डकी प्रदेशको दमौलीमा, लुम्बिनी प्रदेशको दाङमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा अस्पतालले आफ्नो सेवा विस्तार गर्न लागेको छ । बागमती प्रदेशमा भने सिन्धुली वा सिन्धुपाल्चोक कहाँ लैजाने भन्ने टुङ्गो नलागिसकेको निर्देशक डा. पौडेलले जानकारी दिए  ।

विस्तारित सेवामा क्यान्सर अस्पतालबाटै दक्ष चिकित्सक परिचालन गरिने छन् । क्यान्सर अस्पतालबाटै दक्ष चिकित्सकमार्फत त्यहाँका चिकित्सक तथा नर्सिङ स्टाफलाई तालिम दिएर क्यान्सर उपचार केन्द्र बनाइने पौडेलले बताए ।  उनले कम्तीमा  महिनामा एकपटक अस्पतालका चिकित्सककै टोली प्रदेश सेवा केन्द्रमा पुगेर एक हप्तासम्म बस्ने र सेवा केन्द्र अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्ने गरी कार्यतालिका मिलाएकाे बताए ।

प्रतिक्रिया