बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा
काठमाडौं- बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आन्दोलनकारी विद्यार्थीहरूले शनिबार सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका हुन् ।
आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गरेका हुन् ।
प्रधानन्यायाधीश हसन पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरी शनिबार १ बजेभित्र राजीनामा गर्न अल्टिमेटम नै दिएका थिए ।
बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन ।