श्री एयरको जहाज ‘रनवे’बाट फर्काइनुको कारण रास्वपा सांसद विनिता, यस्तो भएको रहेछ


काठमाडौं-  शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटसुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्स(एसएचए–१२१) को विमान धावनमार्गबाट फर्कियो । उक्त विमान ‘रनवे’बाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।

बिहान साढे ७ बजेको विमान रनवेबाट ‘टेकअफ’को अन्तिम प्वाइन्टमा पुगिसकेको थियो । तर, एक्कासी विमान फर्काइएको थियो । त्यसको कारण विमानभित्र केही यात्रुबीच विवाद भएपछि विमान फर्काइएको बताइएको थियो ।

सोही विमानमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की प्रतिनिधिसभा सदस्य विनिता कठायत पनि सवार थिइन् । विमान फर्काइएको घटनाबारे उनले सरकारी मिडियालाई भ्रममा पारेको खुलेको छ । उनले एक मिडियालाई विमान ‘रनवे’बाट उड्नै लाग्दा फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताएकी थिइन् ।

‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो । एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, उनले भनेकी थिइन् ।

तर, त्यहाँ उनले भनेको जस्तो नभएको विमानस्थल स्रोतले बताएको छ । यात्रुहरुबीच विवाद भएको भनिएको घटनामा उनी स्वयम् संलग्न भएको स्रोत बताउँछ । सांसद विनिता कठायतकै कारण जहाज तीन घण्टा ढिलो भएको खुलेको छ ।

श्री एयरलाइन्सको जहाजमा उनी र यात्रुबीच झगडा परेपछि उडान ‘डिले’ भएको स्रोतले जानकारी दिएको छ । जहाज बिहान ७ बजे उड्ने नियमित तालिका थियो । तर, सुर्खेतको मौसम खराब भएपछि साढे ८ बजे बल्ल बोर्डिङ सुरु भयो । त्यस क्रममा सांसद कठायत र अन्य यात्रुबीच केही विषयमा भनाभन भएको थियो । तर, सामान्य विषयलाई उनले ‘संसदमा उठाउने’ धम्की दिएपछि विवाद थप चर्किएको थियो ।

त्यसरी यात्रुहरुबीच झगडा भएपछि चालक दलका सदस्य र एयरलाइन्सका कर्मचारीले एयरपोर्टमा खटिएका प्रहरी अधिकृतलाई फोन गरेर बोलाएका थिए । त्यसपछि इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली जहाजमा पुगेर दुवै पक्षको कुरा सुनेर अवस्था सामान्य बनाएका थिए । दुवै पक्ष शान्त भएपछि जहाज १० बजेर १ मिनेटमो सुर्खेत उडेको थियो ।

यस विषयमा सांसद विनिता कठायतको प्रतिक्रिया माग्न सम्पर्क गर्दा उनको सचिवालयले फोन उठायो । सचिवालयले अहिले त्यहि विषयमा छलफल भइरहेकाले केही बोल्न नमिल्ने भन्दै जवाफ दिएको छ ।

 

प्रतिक्रिया