मनसुनजन्य विपदमा मृत्यु हुनेको संख्या १५४ पुग्यो


काठमाडौं  – गत जेठ २८ गते यताको मनसुनजन्य विपदमा परी हालसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको हो ।

काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ८६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्धार गरिएको छ । बाढी-पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीका कारण ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ३८ घरपरिवार विस्थापित भएका छन् ।

बाढी-पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, बाटो अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया