प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनः स्थापनका लागि अविश्राम र अथक संघर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनले त्याग र संघर्षको सम्मानका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे। “प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कन्जुस्याइँ हुने छैन भन्ने मैले विश्वास लिएको छु”, उनले भने ।

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। “नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापनामा तपाईँहरूको संघर्ष, त्याग र योगदान महत्त्वपूर्ण छ, अहिले तपाईँहरूका लागि राज्यले जे जति काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु”, उनले भने ।

सहिद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र संघर्षका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको राष्ट्रपति पौडेलको भनाइ थियो । “राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पूरा हुन सके मात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्य-मान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउनेछ । यसमा सबै लोकतन्त्र प्रेमीहरू सधैँ सचेत र जागरूक रहनुपर्छ”, राष्ट्रपति पौडेलले भने ।

त्यस अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया