शंकर ग्रुपले सञ्चालनमा ल्याएको होटल हिल्टनको भवन ‘अवैध’, नक्सा पास नगर्नेमा बसेरा पनि


काठमाडाैं- गत बिहीबार नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने बताएका थिए । तर, त्यसैदिन च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको थियो । सोही कारण एमालेको बैठक सिंहदरबार अगाडिको होटेल बसेरा बुटिकमा बसेको थियो । त्यो होटल ५ वर्षअघिदेखि चल्दै आएको छ ।

यस्तै गत शुक्रबार नक्शालमा जगदम्बा हस्पिटालिटी गु्रप लिमिटेडले अर्ब रूपैयाँ लगानीमा पाँच तारे स्तरको हिल्टन होटलको उद्घाटन भएको थियो । उक्त होटलको प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसहितले उद्घाटन गरेका थिए ।

मथि उल्लेख भएका यी दुवै होटलको नक्सा पास नभएको खुलेको छ । भवनको नियमनकारी निकाय काठमाडौं महानगरपालिकाको तथ्याङ्कमा दुवै होटलको नक्सा पास नभएको खुलेको हो । काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभागका अनुसार महानगरको कम्प्युटर अभिलेखमा दुवै होटलको नक्सा देखिएको छैन ।

शंकर ग्रप त्यहि ‘विवादित’ घराना हो, जो कालोबजारी गर्दै र सरकारी कर छल्दै आएको छ । अब त्यसले नेप्सेमार्फत कारोबार हुँदै गरेको सेयर बजारलाई विस्थापित गर्ने उद्देश्यसहित नयाँ कम्पनी खडा गरेर तयारी गरिरहेको छ ।

हिल्टन होटलमा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालको ९० प्रतिशत शेयर स्वामित्व रहेको छ । होटल निर्माणका लागि ५ अर्ब २ करोड २० लाख रूपैयाँ बैंक ऋणको रेटिङ समेत गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ अनुसार नक्सा पास नगरी भवन निर्माण गर्नु गैर कानुनी हो । त्यस अनुसार कसैले नक्सा पास नगरी कुनै भवन बनाएको पुष्टि भएमा पाँच लाख रूपैयाँसम्म जरिवाना गरी प्रमुखले सो भवन वा त्यो कुनै भाग भत्काउन आदेश दिन मिल्ने उल्लेख छ । तर यी दुवैलाई कारबाही भएको कुनै जानकारी छैन ।

शक्तिकेन्द्र र राजनीतिक पहुँचको आधारमा बारम्बार कारबाहीबाट उन्मुक्ति पाइरहेको शंकर ग्रुप यो मामिलामा पनि ‘सेफ’ छ । होटल हिल्टनको निर्माणकै क्रममा सडकै भासिएको थियो । त्योबेला स्थानीयले आन्दोलन पनि गरेका थिए । तर, नियमकारी निकायले कुनै कारबाहीको प्रक्रिया अगाडि बढाएको थिए । राजनीतिक शक्ति र पैसाको भरमा आफ्ना गल्ती ढाकछोप गरी बलमिचाइ गर्दै आएको जगदम्बा हस्पिटालिटीले होटल निर्माणका क्रममा सडकसमेत मिचेको थियो ।

यस्तै डेडिकेटेड र ट्रंकलाइनको बिल भुक्तानी नगरेको भन्दै लाइन काट्दा होस् या कारोनाकालमा गरेको थर्मल गनको कालोबजारी प्रकरण, शंकर गु्रप शक्तिको आडमा जोगिँदै आएको छ । त्यस्तै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर मंहगोमा बेचेर सिमेन्ट उद्योगी मुकुन्द तिमिल्सिनालाई ‘चुना लगाउने’ कार्य, पनि शुलभ अग्रवाल सहजै उम्किएका थिए ।
शंकरलाल आग्रवाल अध्यक्ष रहेको सो ग्रुपको उपाध्यक्ष शुलभ अग्रवाल हुन् भने प्रवन्ध निर्देशक शाहिल आग्रवाल छन् । शुलभ र शाहिल दाजुभाई हुन् भने शंकर बुवा ।

शंकर ग्रुप मातहत रहनेगरी दुई ठूला कम्पनी जगदम्बा होल्डिङ्गस् र जगदम्बा ग्रुप अस्तित्वमा छन् । जगदम्बा होल्डिङ्गस् अध्यक्ष शुलभ अग्रवाल छन् भने जगदम्बा ग्रुपको नेतृत्व शहिल अग्रवालले सम्हालेका छन् । यी दुई कम्पनीमार्फत सिमेन्ट, स्टिल, वायर, अटोमोबाइल, हस्पिटालिटी, स्प्रिड, ट्रेडिङ, इन्सोरेन्स, टोबाको, एग्रो लगायतका कारोबार सञ्चालनमा छन् ।

जगदम्बा, ऋद्धिसिद्धि, सौर्य र शुभश्री सिमेन्ट, प्रोटोन गाडी, टिभिएस मोटरसाइकल, बलेफी, लोअर मोदी, अपर बलेफी हाइड्रो, होटल हिलटन, मोइट, डन एन्जल(रक्सी), बम्बै डाइङ फाइबर, सिको घडी तथा हिमालयन रि–इन्सोरेन्सको कारोबार दुई कम्पनीहरुमार्फत हुँदै आइरहेको छ ।

प्रतिक्रिया