अध्यक्ष नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि छन् ।

सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी क्लष्टर छुट्टाइएको छ । समावेशी महिला र समावेशी २५ देखि ४५ वर्षको उमेर समूह तथा खुला उमेर समूह निर्धारण गरिएको छ ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल गरिएको जनाइएको छ ।

प्रतिक्रिया