हामी एउटा ठूलो रुपान्तरणको प्रक्रियामा छौं : सापकोटा


काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को जारी केन्द्रीय समितिको बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएपछिको अवस्था र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिका, जनपरिचालन र सङ्गठन निर्माणलगायतका विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा नेताहरु जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि, श्रीराम ढकालले धारणा व्यक्त गरे । उनीहरुले सुशासन, सामाजिक न्याय र आर्थिक विकासका सन्दर्भमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रभावकारी काम गरेको बताएका थिए । सुशासन, भ्रष्टाचार नियन्त्रणका सवालमा सरकार प्रभावकारी तवरले अगाडि बढ्न खोजेपछि संसद्को पहिलो र दोस्रो ठूलो दल एक आपसमा मिलेको उनीहरुको भनाइ थियो ।

प्रवक्ता सापकोटाका अनुसार, सरकारका रहँदा भएका सकारात्मक काम कारवाहीका विषयमा पनि सामूहिक रुपमा जनतामा लैजाने र कमी कमजोरीबारे सामूहिक रुपमा नै स्वामित्व लिनुपर्ने नेताहरुको भनाइ थियो । सापकोटाले थपे, ‘वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी नै छलफल भइरहेको छ । आज पाँच जना कमरेडहरूले आफ्नो भनाइ राख्नुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा, विश्व दृष्टिकोणका बारेमा सीमारहित छलफल छ । जसलाई जति समय आवश्यक छ, त्यसैअनुसार समय दिइएको छ । परिस्थिति जटिल र पेचिलो छ । हामीले एक खालका कार्यक्रम बनाएर जनतामा जानुपर्छ । हामी एउटा ठूलो रुपान्तरणको प्रक्रियामा छौं ।’

शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा नेताहरुले सरकारबाट पार्टी बाहिरिंदा विजयी भावका साथ जनतामा जाने र त्यसका आधारमा सङ्गठन विस्तार गर्ने अवसर पैदा भएको उल्लेख गरेका थिए । माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो १ बजे पनि जारी रहनेछ ।

प्रतिक्रिया