संक्रमणकालीन न्यायको विषय टुंग्याउन सोमबार अर्को बैठक बस्ने


काठमाडौं – संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ ।

शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न बैठकमा सकारात्मक छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

बैठकपछि बर्तौलाले केही राय लिएपछि सोमबार अन्तिम बैठक बस्ने बताए । यो विषय सत्ता वा प्रतिपक्षको नभएको बताउँदै उनले यो सबैको साझा विषय भएको बताए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषय सहमति नजिक पुगेको बर्तौलाले बताएका छन् ।

कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक रहेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया